तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीमा ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

काठमाडौँ । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टिम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दसौँ बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल हाम्रो असल मित्रराष्ट्र हो । 

हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।”

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । 

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button