तपाईँ सुन्दै हुनुहुन्छः

बुलिङटारमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी पालिका बुलिङटार गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

वडा नं ५ को कार्यालयबाट सामाजिक सुरक्षा भत्ता  वितरण सुरु गरिएको हो । सार्वजनिक सेवा प्रभावलाई सहज र प्रभावकारी बनाउनको लागि यस कार्य थालनी गरिएको गाउँपालिका अध्यक्ष  इन्जिनियर दीपेन्द्र सुनारीले बताउनुभयो । अन्य वडाहरूमा पनि क्रमशः वितरण गर्दै जाने अध्यक्ष सुनारीले बताउनुभएको छ ।  

गाउँपालिका केन्द्रमा रहेको बैङ्कसम्म आउन वृद्धवृद्धा, अशक्त तथा सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई भौगोलिक अवस्थाले गर्दा निकै समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको गाउँपालिका अध्यक्ष सुनारीले बताउनुभयो । पालिकावासीको जन जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने यस्ता सकारात्मक प्रयासलाई निरन्तर जारी राख्ने समेत अध्यक्ष सुनारीले बताउनुभयो । 

सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकाको केन्द्र रहेको तीन नं. वडामा धाउन भने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई धेरै सास्ती हुने गरेको थियो । तर, गाउँपालिकाले समस्याको समाधान गर्न वडा वडाबाटै भत्ता वितरण गर्न सुरु गरेपछि सेवाग्राही निकै खुसी भएका छन् । 

बैङ्कमा घण्टौँसम्म लाइन बसेर वृद्धभत्ता बुझ्दै आउनुभएका बुलिङटार गाउँपालिका वडा नं ५ का ८३ वर्षीय जग बहादुर थापा यस आर्थिक वर्षको दोस्रो त्रैमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । उहाँले  निर्वाचनका बेला  मतदातासँग जनप्रतिनिधिले गरेको बाचा पुरा गरेर गाउँमै भत्ता बुझ्ने वातावरण मिलाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।  

त्यस्तै, सोही वडाकी ७८ वर्षीया गंगिसरा थापा पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुभयो । 

गाउँपालिकाको नीति अनुरूप पालिकामा पर्ने ६ वटै वडाबाट भत्ता वितरण कार्य हुने अध्यक्ष सुनारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button