तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेट

काठमाडौँ । परराष्ट्रमन्त्री ड.विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघेसँग आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहनुभएका मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गर्नुभई दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गर्नुभएको हो ।

श्रीलङ्काका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययन लगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गर्नुभयो ।

मन्त्री पौड्यालले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहनुभएका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेश मन्त्रीहरूसँग अलग अलग भेटवार्ता गर्नुभयो ।

ती देशहरूका विदेश मन्त्रीहरूसँगको भेटमा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबिच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

यस अघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

परराष्ट्र मन्त्री पौड्याल श्रीलङ्काको भ्रमण पूरा गरी भोलि स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button