तपाईँ सुन्दै हुनुहुन्छः

गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह

पोखरा । होटल सङ्घ पोखरा नेपालले काठमाडौँस्थित चिनियाँ राजदूतावाससँग नेपाललाई पनि गन्तव्य राष्ट्रको सूचीमा समावेश गर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई आग्रह पत्र प्रस्तुत गर्दै कोभिड-१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गर्नुभयो ।

सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएको समयमा चीनका तर्फबाट सार्वजनिक २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा सङ्घ निराश भएको आग्रह पत्रमा उल्लेख छ ।

कोभिडसँगै भ्रमण स्थगनको करिब तीन वर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूची अनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदैछ । दूतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशको सूचीलाई पुनर्विचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ ।

उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड–१९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र दुई देशबीचको सदियौँ पुरानो सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button