तपाईँ सुन्दै हुनुहुन्छः

‘वर्षौँदेखि टहराकै बास, न पतिको सास, न माइतीको आश’

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ५ फाई गाउँकी ४० वर्षीया विपन्न बिजमाया जैसी घाम लाग्दा बेस्सरी पोल्ने र पानी पर्दा चुलोमै ताल पर्ने जीर्ण काठको टहरामै बस्न थालेको ३ वर्ष बित्यो । तर, सरकारका जनता आवास र सुरक्षित नागरिक आवास कार्यक्रमले उहाँको पिडामा मलम लगाउन सकेका छैनन् ।

साथमा १३ वर्षीया छोरी र १५ वर्षीया छोरा छन् । तीनै जना साँघुरो जीर्ण टहरामा घामपानीबाट ओत लाग्न बाध्य । “पानी पर्दा चुलोमै ताल पर्छ, ओढ्ने ओछ्याउने सबै भिज्छन् । घाम लाग्दा पोल्छ । टाढाबाट टहरा देख्नेहरू शौचालय ठान्छन् । तर त्यो विगत एक दशकदेखि ओत लाग्दै आएको मेरो महल हो । टहराभन्दा बाहिर मेरो कुनै दुनियाँ छैन ।” बिजमायाको भनाइ ।

जीर्ण टहरामा बस्न थालेको ३ वर्ष बिते पनि एकल सङ्घर्ष र अभावमा दैनिकी गुजार्न थालेको झण्डै १२ वर्ष बित्यो । वर्षातको पानीले ४ वर्षपहिले घर भत्किएपछि बिजमायाका परिवार टहरामा बस्न थालेका हुन् । व्यापारको सामान ल्याउन भनी घरबाट निस्किएका बिजमायाका श्रीमान् धर्मदत्त जैशी नफर्किएको ११ वर्ष बित्यो । अहिले सम्म न लास न सास केही पनि आएको उहाँले बताउनुभयो । २० वर्षअघि दुईजना बीच विवाह भएको थियो ।

घरदैलो नजिकको स्थानीय सरकार आएपछि आफ्ना पिडामा मलम लाग्ने उनको आशा थियो । घर बनाइदिन गाउँलेदेखि स्थानीय सरकार प्रहरी प्रशासनसम्म गुहारे पनि सुनुवाई भएन ।

राज्यबाटै उपेक्षित भएको, गुहार गर्दा पनि कतै सुनुवाई नभएको भन्दै गतहप्ता पत्रकार महासङ्घ जुम्लामा पुगेर भक्कानिँदै बिजमायाले दुखेसो पोख्नुभयो, “म यो हिउँमा सुत्न पाइन, कपडा पुरै पानीले भिजे, चुलोमा ताल पर्‍यो । जस्ता पुरानो हुँदा राती आकाशका तारा देखिन्छन् । ३ वर्षदेखि आनन्द तरिकाले सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, टहरा साँघुरो हुन थाल्यो । कोही भगवानले मेरो सानो घर लगाइदिन्छ की ? पहल गरिदिनुपर्‍यो ।”

बिजमायाका भाइ नन्दप्रसाद आचार्य पनि दुःखी हुनुहुन्छ । दिदीको अवस्था देखेर मन खिन्न हुन्छ । उहाँ भन्छन्,“दिदीको अवस्था देख्दा मन दुख्छ । के गर्ने ? हामीसँग दिदीको समस्या समाधान गर्ने कुनै उपाय पनि छैन । आफ्नै परिवारको पालनपोषण गर्न मुस्किल छ । चाहेर पनि केही गर्न सक्ने स्थिति छैन ।”

श्रीमानको सास र माइतीको आश मारिसकेकी बिजमायाको जीवन भगवान् भरोसमा छ । चुहिने टहरामा वर्षौँ बिताएकी उनलाई छोराछोरीलाई पढाउने र एक सानो घर बनाउने हुटहुटी छ । तर त्यो टहराभित्रको कल्पना मात्रै बनेको छ । वास्तविकता अर्कै छ । गाउँ नजिककै त्रिभुवन माध्यमिक विद्यालय झारजुवालामा पढ्ने छोराछोरीको कापी कलम र पोशाक किन्न नसक्दा छोराछोरी विद्यालय जान छाडेका छन् ।

गुठिचौरका अध्यक्ष दान बहादुर बुढाले बिजमायाको विषय प्राथमिकताका साथ हेर्ने प्रतिबद्धता गर्नुभएको छ । विपन्न नागरिकको सुरक्षित आवासको अधिकारलाई प्रत्याभूति र कार्यान्वयन गर्न गम्भीर रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button