राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा प्रधानमन्त्रीले सबै पक्षसँग संवाद गर्नुहुने
माओवादीले दुई महिने अभियान चलाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताउनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफैँले पाउनुपर्ने दाबी गर्दै आएको छ भने प्रधानमन्त्री प्रचण्ड सर्वोच्चको फैसलाको पुर्णपाठ नआएसम्म लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिने पक्षमा देखिनुभएको छैन ।
नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयपछि रास्वापाका सभापतिसमेत रहनुभएका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी गुमेको थियो ।
माओवादी स्थायी कमिटी बैठक
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले दुई महिने अभियान चलाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले फागुन र चैत महिनामा सङ्गठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो ।
बैठकले सबै कमिटीहरूको बैठक राख्ने, नेताहरू फिल्डमा जाने, र रिपोर्ट तयार गर्ने निर्णय गरेको समेत छ ।
बैठकमा चुनावको विषयमा समीक्षा गर्ने र ठाउँ ठाउँमा भएको अन्तर्घातका विषय तल्लो तहसम्म गएर रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
प्रवक्ता महराले दुई महिनापछि बस्ने केन्द्रीय कमिटी बैठकमा फिल्डबाट तयार भएका रिपोर्टहरू प्रस्तुत गरेर र त्यसैअनुसार पार्टीलाई अघि बढाउने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले माघ २६ गतेदेखि नेताहरूलाई फिल्डमा पठाउँदै अध्यक्ष प्रचण्डको निर्देशन एवम् वक्तव्यलाई तल्लो कमिटीसम्म लैजाने निर्णय समेत गरेको छ ।
बैठकमा सङ्गठन सुदृढीकरण र बिस्तारसँग सम्बन्धित प्रस्तावमा छलफल भएको पनि माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्