तपाईँ सुन्दै हुनुहुन्छः

जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउछु : मन्त्री गिरी

काठमाडौँ । जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बताउनु भएको छ  । 

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले  यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।  यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईँहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला, मन्त्री गिरीले भन्नुभयो,हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ ? गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन् । यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् । 

उहाँले थप्नुभयो, सुस्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध  निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठूलो योगदान हुन्छ । हामी जिम्मेवारीमा छौँ,  तपाईँहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।

स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताउनुभयो ।  हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौँ । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सीमा छन् । तर आम जनताले महसुस गर्ने गरी काम गर्नेछौँ, उहाँले भन्नुभयो,पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौँ । अहिले अध्ययनमै छौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button