तपाईँ सुन्दै हुनुहुन्छः

अग्नि पीडितलाई सहयोग रकम हस्तान्तरण

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नि पीडित परिवारलाई आधा करोड रुपियाँ भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको उपस्थितिमा भएको एक कार्यक्रममा अग्नि पीडित सहयोग समितिमार्फत विभिन्न सहयोगी व्यक्तिहरूबाट सङ्कलन भएको ५८ लाख १० हजार ३१५ रुपियाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । 

नेले विकास समाजले मात्रै १३ लाख ४९ हजार ६८० रुपियाँ सङ्कलन गरेको हो । उक्त सहयोग रकम आगलागीबाट पूर्ण रुपमा घर गुमाएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार ८१३ रुपियाँ, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार ५४८ रुपियाँ, बुद्धिबहादुर कार्कीलाई ११ लाख २२ हजार ८९ रुपियाँ, रमेश बस्नेतलाई १० लाख २४ हजार ८८१ रुपियाँ र आंशिक क्षति भएका प्रणय राईलाई पाँच लाख ४९ हजार ५३६ रुपियाँ रकम हस्तान्तरण गरिएको छ ।

त्यस्तै, भाडामा बसेका मिङ्मार तामाङलाई दुई लाख ७१ हजार ६३ रुपियाँ, मोहन भुजेललाई एक लाख ३० हजार ६२३ रुपियाँ, बुद्धिबहादुर केसीलाई ७६ हजार ३५२ रुपियाँ, सुरेन्द्र कार्कीलाई ४० हजार २८० रुपियाँ, हेमन्त बस्नेतलाई २० हजार १४० रुपियाँ, भिमकुमारी बस्नेतलाई २९ हजार ३४६ रुपियाँ, बिक्रम बस्नेतलाई १३ हजार ८१० रुपियाँ र ङवाङगिर्मी शेर्पालाई १६ हजार ६८७ रुपियाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष एवं सहयोग सङ्कलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै अब सहयोग सङ्कलन कार्य सकिएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो । गएको पुस ५ गते दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पूर्णरुपमा नष्ट भएका थिए भने केही घरहरूमा आंशिक क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button