तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदलाई प्राथमिकतामा राख्नुस् : उपराष्ट्रपति

काभ्रेपलाञ्चोक । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ ।

उहाँले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद महोत्सवको आज उद्घाटन गर्दै उक्त सुझाव दिनुभएको हो ।

“खेलकुद विकासको पहिलो शर्त नै पूर्वाधार विकास हो, पूर्वाधार विकासमा भने राज्यको लगानी अपेक्षित वृद्धि हुन सकेको छैन”, उहाँले भन्नुभयो “त्यसैले सबै तहका सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पार्नुहोला ।” उहाँले विभिन्न क्षेत्रमा महोत्सवअघि निर्माण गरिएका खेलकुद पूर्वाधार अझै अलपत्र रहेको उल्लेख गर्दै खेल पूर्वाधारमा सबै तहका सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले विभिन्न विधाका खेलाडीले पूर्वाधार अभावका कारण कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहिरहेको गुनासो गर्नुभयो ।

उपराष्ट्रपतिले राष्ट्रिय खेलाडी नै रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता कम गर्न तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न राज्यको तर्फबाट उचित सुविधा र सम्मान गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले विभिन्न विधाका खेलसँगै सरकारले साहसिक खेल पर्यटनका सम्भावना पहिचान गरी अभिवृद्धि गर्न सक्नुपर्ने बताउनुभयो ।

अर्का सांसद सूर्यमान दोङले खेल क्षेत्रले युवा जनशक्ति तयार गर्ने भएकाले खेलकुदलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

बाग्मती प्रदेशसभा सदस्य तीर्थ लामा, जिसस प्रमुख दीपककुमार गौतम, पनौती नगरप्रमुख रामशरण भण्डारी लगायतले खेल उल्लासमय एवं अनुशासित रूपमा सम्पन्न गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button