तपाईँ सुन्दै हुनुहुन्छः

१२ महिलाको उद्धार

काठमाडौँ । वैदेशिक रोजगारको प्रलोभनमा परी बिदेसिन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले मङ्सिर र पुसमा भारत पुर्‍याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो ।

ब्युरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था (हेल्प क्रस इन्डिया) र नेपालस्थित शान्ति पुनः स्थापना गृहको सहकार्यमा उनीहरूको उद्धार भएको हो ।

उहाँका अनुसार उद्धार गरिएका अधिकांश ३१ देखि ४० वर्ष उमेर समूहका विवाहित महिला छन् । कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन् । नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन् । ब्युरोको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बेचबिखन तथा ओसारपसार भएका दुई सय १४ महिलाको उद्धार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button