तपाईँ सुन्दै हुनुहुन्छः

रक्षा मन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा आज मन्त्री उप्रेतीले संवैधानिक दायित्व र समय क्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री उप्रेतीले सेनाले राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशबाट सिर्जित चुनौती सम्बोधन, समाधान र न्यूनीकरण गर्न क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button