तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम

तस्बिर : मिलन ढुङ्गाना

काठमाडौँ  । भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचार सम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा होसियार खबरदार बोलको गीत प्रथम भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान  आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आज रेडियो नेपालमा आयोजित प्रतियोगितामा रामजी थापा (रोचक)को शब्द रचना रहेको होसियार खबरदार बोलको गीतले प्रथम स्थान हासिल गरेको हो ।

उक्त गीत भानुभक्त ओली, पासाङ डोमा शेर्पा, अन्जु गौतम, केशब अधिकारी र लिलाबहादुर श्रेष्ठले गाउनुभएको थियो ।

त्यस्तै, खड्ग गन्धर्वको शब्द रचना रहेको भ्रष्टाचार नियन्त्रण सुशासन बोलको गीतले द्वितीय स्थान हासिल गरेको छ । गीतमा करुणा गन्धर्व र स्मृति शाहीले स्वर दिनुभएको थियो ।

प्रतियोगितामा गोरखाका निश्चल गुरुङ तृतीय  र इलामका टेकनाथ दियाली सान्त्वना हुनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.हरि पौडेल र आयोगका सचिव रामेश्वर दङ्गालले प्रतियोगितामा प्रथम हुनेलाई १ लाख रुपैयाँ, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस्तै, प्रतियोगितामा सहभागी अन्य कलाकारहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा मूलकभरबाट सहभागी ७६ जना  प्रतियोगीहरू मध्यबाट १५ जना छनौट गरी उनीहरुबीच आज रेडिया नेपालको प्राङ्गणमा प्रत्यक्ष प्रतिस्पर्धा गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button