तपाईँ सुन्दै हुनुहुन्छः

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी। भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले सडक निर्माण भएपछि स्थानीयवासीमा खुसीयाली छाएको बताउनुभयो । “बस र जीप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो । मुनाबाट लमसुङसम्मको सात किलोमिटर दूरीको सडकमा यातायात सञ्चालन हुन थालेका र लमसुङबाट लुलाङ हँुदै गुर्जा जोड्ने सडकको एक किलोमिटरभन्दा बढी मार्ग खोलिसकिएको छ । मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा खनिएको सडक स्तरोन्नति भएपछि गत हप्तादेखि यातायातका साधन चल्न थालेका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भिरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो । सो ठाउँमा सडक ढलानको काम थालिएको छ ।

गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुनसकेको थिएन । महतलामा तीन वर्षअघि सडक पुगेको थियो । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङबाट लुलाङ हँुदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ ।

अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन यसपालि योजनालाई निरन्तरता दिइएको थियो । खोरियाका मतिप्रसाद पाइजाले अक्करे पहाड छिचोलेर खोलिएको सडकमा यातायात सञ्चालन भएपछि सहज भएको बताउनुभयो ।

“सडक यातायातको सुविधा नहुँदा गाडी चढ्न हिँडेर महतलाको भिरसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “गाउँमै गाडी चल्न थालेपछि यात्रा अवधि छोटिएको र ढुवानी खर्च घटेको छ ।” लुलाङ–गुर्जा सडक निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु ४५ लाख र गण्डकी प्रदेश सरकारले रु ८० लाख विनियोजन गरेका छन् । सो बजेटबाट मजदुर परिचालन गरेर लमसुङबाट लुलाङतर्फ सडक निर्माण भइरहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताउनुभयो । बस्तीमाथि सडक खन्दा जोखिम हुने भएकाले डोजरका विकल्पमा मजदुर परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button