तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृह मन्त्रालयका लागि दुई दिन पर्खिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल नबाहिरिने भएको छ । आज बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारबाट तत्काल नबाहिरिने र गृह मन्त्रालयका सन्दर्भमा दुई दिन पर्खिने निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा दुई दिन पर्खिने निर्णय पार्टीले गरेको उहाँले बताउनुभयो । प्रवक्ता ढकालले दुई दिनभित्र माग पूरा गर्न आनाकानी गरे पार्टीले आवश्यक निर्णय लिने बताउनुभयो । सत्ता गठबन्धन बन्दा गृह मन्त्रालय आफ्नो भागमा परेकोले अहिले पनि गृह मन्त्रालयको अडानबाट फिर्ता हुन नसकिने रास्वपाका नेताहरूकाे भनाइ छ ।

नागरिकता मुद्दा हारेपछि रास्वपाका सभापति रवि लामिछानेको मन्त्री तथा सांसद पद गुगेको थियो । त्यसपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँ सम्हालिरहनुभएको छ ।

तर, सरकार गठनका बेला भएको सहमतिबमोजिम गृह मन्त्रालय आफूलाई दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपा असन्तुष्ट छ । आज बसेको बैठकले सरकार सञ्चालनका लागि गठित उच्चस्तरिय संयन्त्रको बैठक बोलाउन पनि माग गर्ने निर्णय पनि गरेकाे छ । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी यसअघि नै दिइसकेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button