भैँसी पालेरै घरघडेरी

जुम्ला । जुम्लाको हावापानीले बाह्रै महिना घरमा पशुपालन गर्न मुस्किल छ । ६ महिना लेकमा र ६ महिना बेसीमा राखेर गाई भैँसी पालन गरिन्छ । त्यसमाथि हिउँदको अत्यधिक चिसोसँगै चरण क्षेत्र र दानापानीको अभावले जुम्लामा बाह्रै महिना दुहुना गाई भैँसी पाल्न झन कठिनाइ छ ।
तर गुठिचौर ५ का विष्णु धितालले २६ वर्षदेखि बाह्रैमास गाउँमै व्यावसायिक भैँसी पालन गर्दै आउनुभएको छ । चरण क्षेत्र, दानापानीको अभाव तथा चिसोको सामना गर्दै धितालले २६ वर्षदेखि भैँसी पालन गर्दै दूध बेचेरै घरघडेरीदेखि सन्तानलाई सरकारी जागिरेसम्म बनाउन सफल हुनुभएकाे छ ।
उहाँले दूधकै आम्दानीबाट जुम्लामा घर निर्माण, प्रदेश राजधानी सुर्खेतमा जग्गा खरिददेखि छोरीलाई सरकारी जागिरेसमेत बनाउनुभएकाे हाे ।
‘मेरो मुख्य आयस्रोत नै भैँसी र दूध हो । अथक मिहिनेतले छोरी सरकारी जागिरे भइन् । जसोतसो जुम्लादेखि सुर्खेतसम्म घरघडेरी पनि जोडेको छु । म स्वदेशमै सन्तुष्ट छु । गाउँमै पसिना बगाए सुन फल्छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्