तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत र जलवायु अनुकूलन दिगो शहरी विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । स्थानीय योजना निर्माण मञ्चको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ।

‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सुरु भएको दुई दिने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १३ देशका शहरी योजनाकार, उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहेको छ। 

सम्मेलनको उद्घाटन गर्नुहुँदै शहरी विकास मन्त्री विक्रम पाण्डेले सम्मेलनले नीति निर्माता र शहरी योजनाकारलाई प्रभावकारी एवं वैज्ञानिक शहर विकासको योजना निर्माणमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

  उहाँले विभिन्न देशका विज्ञहरुबीच छलफलसँगै उत्कृष्ट ज्ञान, सिप र अभ्यासको आदानप्रदानले शहरी विकासका योजनालाई अझै मजबुद बनाउने बताउनुभयो ।  

मन्त्री पाण्डेले भोलिलाई समेत विचार गरेर सहरको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुहुँदै सहरको योजना बनाउँदा एकिकृत, दिगो र जलवायु अनुकूलजस्ता विषयहरूलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो। 

शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले अन्तर्राष्ट्रिय बाचाहरू पुरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउँदै स्थानीय योजना निर्माण त्यसका लागि सहयोगी हुने धारणा राख्नुभयो । भूमि व्यवस्थापन, भू–उपयोग, शहरी योजना लगायतका विषयमा सम्मेलनले मार्ग निर्देशन गर्ने उहाँको विश्वास छ। 

सचिव आचार्यले सम्मेलनमा हुने शहरी योजनाकार एवं विज्ञहरुको मस्तिष्क मन्थनले शहरी विकासका नयाँ चुनौतीसँगै समाधानका उपाय पनि सुझाउने अपेक्षा गर्नुभयो । 

राष्ट्रिय योजना आयोगका सचिव केबलप्रसाद भण्डारीले पछिल्लो समय प्रविधि र ज्ञानको उपलब्धता पर्याप्त भएपनि मानिसका लागि बस्न उपयुक्त नयाँ शहर निर्माण गर्न नसकेको स्वीकार गर्नुभयो  । उहाँले भोलिका शहर वा सपनाको शहर भन्ने शहरी विकासका अवधारणा विश्वव्यापी बने पनि मानिस बस्न योग्य शहर आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालमा भू–उपयोग  रणनीति तयार गरेर काम भइरहेको जानकारी दिँदै एसिया प्रशान्त क्षेत्रका शहरी विज्ञहरुबाट थप सिकाइहरू प्राप्त हुने अपेक्षा गर्नुभयो। 

युएन ह्याबिट्याट एसिया प्रशान्त क्षेत्रीय निर्देशक ब्रुनो डेरकनले शहरी विकासका योजना कार्यान्वयनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वयको आवश्यकता रहेको बताउनुभयो । शहरपिच्छे रणनीति बनाएर विकास योजनाहरू ल्याउनुपर्नेमा उहाँको जोड छ। उहाँले राष्ट्रिय योजना प्रणालीको क्षमता अभिवृद्धि गर्नु पर्ने भन्दै उहाँले विकास योजनाहरू दिगो विकासका लक्ष्यहरूसँग तारतम्य मिलाएर ल्याउनुपर्ने बताउनुभयो। 

दिगो, उत्थानशील र समावेशी समाज एवं सहर बस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा “स्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो। मञ्चमा एसिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगाण्डा, मोजाम्बिक, भुटान, श्रीलङ्का, मलेशियालगायत १३ देश आबद्ध छन्। 

सम्मेलनमा विभिन्न देशका विज्ञहरूले १५ वटा प्रस्तुतिमार्फत आफ्ना देशमा भएका शहरी विकास योजनाका अनुभव र सिकाइहरू प्रस्तुत गर्दैछन्। 

नेपाल सरकार, शहरी विकास मन्त्रालय, जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र युएन ह्याबिट्याट एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालय, जापानको  संयुक्त आयोजनामा नेपालमा यो सम्मेलन नेपालमा पहिलोपटक आयोजना गरिएको हो। 

सम्मेलनअघि माघ १७ गते अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे जानकारी दिन सानोठिमी भक्तपुरस्थित दिव्यश्वरी जग्गा एकीकरण आयोजनाको अवलोकन भ्रमण समेत गराएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button