जेठ सम्मका लागि मल मौज्दात: मन्त्री साह
वीरगञ्ज । कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साहले आगामी जेठ सम्मका लागि किसानलाई आवश्यक पर्ने रासायनिक मल कृषि सामग्री कम्पनीसँग मौज्दात रहेको बताउनुभएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय वीरगञ्जको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले मौज्दात मलले वैशाख, जेठसम्म पुग्ने र धान बालीका लागि आवश्यक पर्ने मलको व्यवस्था गर्न तत्काल सरकार जुट्ने बताउनुभयो ।

उहाँले विगतमा धान तथा गहुँ खेती लगाउने बेला मलको अभाव हुने गरेको विषय अत्यन्तै दुःखद भएको बताउँदै असारमा चाहिने मलको खरिद प्रक्रिया अहिले नै अगाडी बढाउन कृषि सामग्री कम्पनीलाई निर्देशन दिनुभयो ।
कृषिमन्त्री साहले कृषि सामाग्री कम्पनीसहित कृषिसँग सम्बद्ध कार्यालयमा कर्मचारीको अभाव देशभरि नै रहेकाले उपलब्ध कर्मचारीकै सक्रियताले काम गर्न निर्देशन दिनुभयो ।
कृषि सामाग्री कम्पनी लिमिटेड वीरगन्जका क्षेत्रीय प्रमुख चन्द्र चौलागाईंले मलको आवश्यकता रहेकाले सरकारले तत्काल मल आयातका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्