तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन हुने

रुपन्देही । बुटवलमा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, मुद्दा र संरचना भएका उपमहानगरपालिकाहरूबिच अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

‘यही मिति २०७९ माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ’ उहाँले भन्नुभयो ‘जसमा उपमहानगरपालिकाहरूका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिनेछ ।’

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो । उहाँले सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य सत्रहरू बुटवल उपमहानगरको सभाहलमा हुने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरहरूका बीचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताउनुभयो । उहाँले स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको बताउनुभयो । उहाँले सम्मेलनमा सहभागी हुने उपमहानगरपालिका र अन्य प्रतिनिधिहरूलाई पत्राचार गरिसकिएको र आन्तरिक व्यवस्थापनको काम जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button