तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा १ सय १० मिटर व्याजीको समस्या समाधान 

जनकपुरधाम । धनुषा जिल्लामा मिटर व्याजीको समस्यामा परेका पीडितहरूले दिएको निवेदन माथि जिल्ला प्रशासन कार्यालयले छानविन गरिरहेको छ । 

छानबिनका लागि पाँच सदस्यीय समितिको निर्माण गरेर हालसम्म १ सय १० वटा समस्याको समाधान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनु भएको छ । 

मिटर व्याजको जिल्ला प्रशासन कार्यालयमा २ सय ९८ वटा उजुरी परेको छ । परेका उजुरी माथि छानविन गरेर पीडित तथा पिडक पक्षलाई बोलाएर छलफलपछि सहमति गराउने तथा पीडकले बनाएका कागज फाँड्न लगाउने काम भइरहेको प्रजिअ दाहालले जानकारी दिनु भयो । दुवै पक्षलाई बोलाएर छलफल र सहमति गराउने काम भइरहेकाले समस्याको समाधान हुने गरेको छ ।  

उजुरीको आधारमा मिटर व्याजको आरोप लागेका ऋण दिने धनी तथा पीडितलाई बोलाएर छलफल गराउने काम जिल्ला प्रशासन कार्यालय धनुषाले नियमित रुपमा नै हुने गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी परिचालन गर्ने काम भएको जनाएको छ । 

मिटर व्याजका कारणले कतिपयको उठीबासको अवस्था आएपछि नेपाल सरकारले छानविन समिति बनाएको र सो समितिले समस्या समाधानका लागि प्रतिवेदन दिएपछि अहिले जिल्ला जिल्लामा छानविन भइरहेको छ । मिल्न नसक्ने र धेरै जालसाजी गर्ने माथि कारबाही गर्ने पक्षमा जिल्ला प्रशासन कार्यालय धनुषा रहेको छ । 

कतिपय मिटर व्याजीले उजुरी परेपछि आफै सहज रुपमा प्रस्तुत भएका छन् भने समस्या समाधानका लागि सहयोग गरेको मिटर व्याजको उजुरीको छानबिनमा खटिएका समितिका कर्मचारीहरूले जनाएको छ । धनुषा जिल्लामा साहु महाजनसँग ऋण लिएर वैदेशिक रोजगारी, उपचार तथा छोरीको विवाहमा खर्च गरेको पाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button