तपाईँ सुन्दै हुनुहुन्छः

जिल्लाको शान्ति सुरक्षा र सुशासन उच्च प्राथमिकतामा : प्रजिअ दाहाल 

जनकपुरधाम । धनुषामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी काशी राज दाहालले तीनै तहका सरकारका बीचमा सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा विकासको काममा गति दिने बताउनुभएको छ । 

धनुषाका पत्रकारहरूसँग आज आयोजना गरिएको अन्तरक्रियामा मधेश प्रदेशको राजधानी जनकपुरधाम भएकाले यस ठाउँको सरसफाइ, सौन्दर्यीकरण तथा ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका सहितका निकायसँग सहकार्य गर्ने बताउनुभयो । 

उहाँले जनकपुरधाम धार्मिक पर्यटकीय नगर भएकाले पर्यटक आउने मार्गहरूलाई व्यवस्थित बनाउनका लागि स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने गरी  आफू अगाडी बढ्ने पनि बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय धनुषाबाट नै सुधारका कामको थालनी गरिसकेको बताउँदै उहाँले अन्य कार्यालयहरूमा हुने गरेको ढिलासुस्ती तथा कमी कमजोरीको समाधान गर्नका लागि सहकार्य गर्ने बताउनुभयो । उहाँले पत्रकारहरूसँग आफू निरन्तर रुपमा नै सहकार्य गर्ने पनि बताउनुभयो । 

गृह मन्त्रालयले पहिलो पटक जिल्लाहरूलाई वर्गीकरण गरेर विभिन्न वर्गमा छुट्याएर आफूलाई मोरङबाट धनुषामा खटाएको बताउँदै उहाँले आम जनतालाई जिल्लामा परिवर्तन महसुस हुने गरि तीनै तहका सरकारका बीचमा समन्वय गरेर काम गर्ने बताउनुभयो । 

प्रजिअ दाहालले सीमा पारिबाट हुने लागु औषधिको कारोबारको नियन्त्रणमा रोक लगाउने भन्नुहुँदै राष्ट्रिय परिचयपत्रलाई जिल्लाको वडा वडामा पुगेर विवरण सङ्कलनको काम चाँडै अगाडी बढाउने बताउनुभयो । नागरिकताको प्रतिलिपिमा हुने गरेको समस्याको समाधानका लागि अभिलेखलाई व्यवस्थित बनाउने उहाँले  बताउनुभयो । 

सरसफाईमा भएको समस्याको समाधान गर्नका लागि जनचेतना फैलाउनुका साथै स्थानीय तहहरूलाई सफाइको अधिकार भएकाले यसमा भएको समस्याको समाधान गर्दै थप प्रभावकारी काम गर्नका लागि स्थानीय तहहरूलाई उत्प्रेरित गर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button