तपाईँ सुन्दै हुनुहुन्छः

पाँच वर्षदेखि डाक्टर विहीन प्राथमिक स्वास्थ्य केन्द्र 

सल्यान । सल्यानको एक प्राथामिक स्वास्थ्य केन्द्र विगत पाँच वर्षदेखि डाक्टर विहीन बनेको छ । 

दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएपछि जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र झण्डै पाँच वर्षदेखि डाक्टर विहीन बनेको हो । 

डा. हेमराज शर्मा अध्ययन बिदा सकाउन बित्तिकै बढुवा भएर गएपछि झण्डै पाँच वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको हो ।

प्राथामिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ । तर दरबन्दी र करार गरेर अहिले ७ जना मात्रै कार्यरत रहेका छन् । एमबिबिएस डाक्टर एक जनाको दरबन्दी छ केन्द्रमा अहिले अहेव दुई जना, करारमा सहित अनमी तीन जना र दुई जना कार्यालय सहयोगी गरेर ७ जना मात्रै कार्यरत रहेका छन् । यहाँ डाक्टर, हेल्थअसिस्टेन, स्टाफ नर्स, ल्यावअसिस्टेन लगाएको दरबन्दी रिक्त रहेको छ ।

दरबन्दी अनुसारको जनशक्ति नहुँदा स्थानीय नागरिकहरू विशेषज्ञ सेवाबाट बञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा एक्स–रे लगायतका मेसिनहरू छन् । तर जनशक्ति नहुँदा भएका उपकरणहरू पनि सञ्चालन गर्न नसकिएको प्राथामिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज विर बहादुर वलीले जानकारी दिनुभयो । 

उहाँले डाक्टर लगायतका अन्य जनशक्ति नहुँदा इमरजेन्सी लगायतका सेवा प्रदान गर्न पनि नसकिएको बताउनुभयो ।

“हामीले सामान्य खालका रोगहरूको उपचार गर्ने हो, तर जनशक्ति नहुँदा स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्  हामीले सक्ने उपचार सेवा दिँदै आएका छौँ ।”, उहाँले भन्नुभयो । 

प्राथामिक स्वास्थ्य केन्द्र विगत पाँच वर्षदेखि नै अहेब र अनमीकै भरमा चलेको छ । छत्रेश्वरी गाउँपालिका भित्रको एक मात्र तीन शय्याको स्वास्थ्य केन्द्रमा पनि वषौँसम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।  

नागरिकले गाउँमै उपचार नपाउँदा खर्च बढ्नुका साथै सास्ती समेत भोग्दै आइरहेको स्थानीय शिवप्रसाद केसीले बताउनुभयो । चिकित्सक पठाइदिन पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाई नगरेको उहाँको गुनासो छ । उहाँले दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button