तपाईँ सुन्दै हुनुहुन्छः

पानी नपरेपछि अलैँची किसान चिन्तित

पाँचथर । पानी नपरेपछि पाँचथरलगायत पूर्वी पहाडी जिल्लाका अलैँची किसानहरू चिन्तित भएका छन् ।

हिउँद याम लागेयता पानी परेको छैन । पानी नपर्दा कृषिजन्य उत्पादनमा प्रत्यक्ष असर परेको छ । माघ १५ गतेसम्म पनि पानी नपर्दा अलैँची किसानलाई चिन्ता बढेको हो ।

अलैँचीमा फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैँचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले पानी नपरेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम , धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाका किसानहरू निरास बनेका हुन् ।

अलैँचीको बोट मर्छ कि भनेर चिन्ता रहेको फालेलुङ गाउँपालिका–८का किसान यामकुमार लिम्बूले बताउनुभयो । हिउँदमा अलैँचीको बिरुवाले जति बढी पानी पायो पछि त्यति नै राम्रो फल दिने भएकाले माघ महिनामा पानी परे धेरै फाइदा पुर्‍याउने किसान बताउँछन् ।

पाँचथर जिल्लामा प्रमुख नगदेबालीको रूपमा अलैँचीलाई लिइन्छ । जिल्लाको फालेलुङ गाउँपालिका, याङवरक, मिक्लाजुङ र फिदिम नगरपालिकाका केही ठाउँ अलैँची उत्पादनको पकेट क्षेत्र हुन् ।

अलैँचीको भाउ बर्सेनी ओरालो लाग्दै गएपछि यस खेतीबाट कृषकहरू विस्थापित हुँदै गएका छन् । माघ १८ गतेसम्ममा जिल्लामा अलैँची प्रतिमन २७ देखि २९ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी खेम अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button