तपाईँ सुन्दै हुनुहुन्छः

पुँजी अभावले जुम्लाका २० प्रतिशत स्याउ किसान मात्रै बिमित

जुम्ला । जुम्लाका २० प्रतिशत स्याउ किसान मात्रै बिमित रहेको पाइएको छ ।

झन्डै १२ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको जुम्लामा २० प्रतिशत अर्थात् २ हजार ४ सय ६१ जना किसान मात्रै हालसम्म बिमित रहेको शिखर इन्सोरेन्स कम्पनी जुम्लाको तथ्याङ्क छ ।

सरकारी तथ्याङ्क अनुसार कुल १९ हजार बढी घरधुरी रहेको जुम्लाको जनसङ्ख्या करिब १ लाख २० हजार रहेको छ । जसमध्ये कुल घरधुरीको (९१.८९) प्रतिशत नागरिक कृषि पेशामा आश्रित रहेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ ।

१९ हजार घरधुरीमध्ये जुम्लाका १२ हजार घरधुरी व्यावसायिक स्याउ खेती गरिरहेका छन् । तर बिमित भने २४ सय ६१ जना किसान मात्रै छन् । ३३ सय ५० हेक्टर जमिनमा १२ हजार घरधुरीका किसानले १४ हजार ५ सय बगैँचामा स्याउ खेती गरिरहेका छन् ।

विगतका वर्षमा असिना पानी, कालो तुसारो जस्ता प्रकोपले स्याउ किसानले करोडौंकोे क्षति व्यहोर्दै आएका छन् । एकातिर पुँजी अभाव र अर्कोतिर चेतना शिक्षाको कमीले जुम्लाका किसान अझै अपेक्षित रूपमा कृषि बिमाको पहुँचमा पुग्न सकेका छैनन् ।

गत वर्षको बेमौसमी वर्षाले जुम्लाको १८ हेक्टर मार्सी फाँटको धान बालीमा क्षति गर्दा १२ सय मेट्रिक टन धान उत्पादन घट्यो तर, किसानले सुको राहत पाएनन् । त्यसैले कृषि बिमामा किसानको पहुँच वृद्धि गर्न स्थानीय सरकारको नीति आवश्यक रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button