स्पासीयल प्लानिङ प्लेटफर्मको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ । नेपालमा पहिलो पटक स्पासीयल प्लानिङ प्लेटफर्मको दुई दिने पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना हुने भएको छ ।
शहरी विकास मन्त्रालयले जापान सरकार, भूमि पूर्वाधार यातायात तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा स्पासीयल प्लानिङ प्लेटफर्मको पाँचौँ संस्करणको अन्तर्राष्ट्रिय सम्मेलन माघ १९ देखि २० गतेसम्म आयोजना हुने भएको हो ।
शहरी विकास मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रदीप परियारले नेपालमा पहिलो पटक स्पासीयल प्लानिङ प्लेटफर्मको पाँचौँ संस्करण हुन लागेको जानकारी दिनुभयो ।
दिगो, उत्थानशील र समावेशी समाज तथा शहरी बस्ती निर्माणसम्बन्धी बहस, छलफल, अन्तर्क्रिया लगायतको कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राज्यका विभिन्न तहहरूमा राष्ट्रिय भूमि तथा शहरी व्यवस्थालाई सुदृढ पार्न विभिन्न देशहरूले अबलम्बन गरेका उपायहरूका बारेमा प्रस्तुतीकरण रहने पनि उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, जापान, मोजाम्बिक, मलेसिया, फिलिपिन्स, श्रीलङ्का, युगान्डा र भियतनामका उच्चस्तरीय अधिकारी र विज्ञहरुको सहभागिता रहने छ ।
प्रतिक्रिया राख्नुहोस्