तपाईँ सुन्दै हुनुहुन्छः

सरस्वती शङ्कर माध्यमिक विद्यालयको भवन उद्घाटन 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७, थगामस्थित श्री सरस्वती शङ्कर माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ ।

प्रतिनिधिसभा सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले विद्यालयको ६४ औँवार्षिकोत्सवको अवसरमा आज विद्यालयको नवनिर्मित ८ कोठे भवनको उद्घाटन गर्नुभएको हो । 

स्थानीयको श्रमदानसहित १ करोड १६ लाखमा निर्माण भएको सो भवन निर्माणका लागि स्थानीय समाजसेवी शङ्कर श्रेष्ठले १ करोड २० लाख रकम आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । 

त्यस्तै, उहाँले विद्यालयका लागि रोपनी ८ आना जग्गासमेत दान गर्नुभएको थियो भने स्थानीय कृष्णबहादुर श्रेष्ठले पनि ८ आना जग्गा दान गर्नुभएको थियो । 

समाजसेवी शंंकर श्रेष्ठ र शेखर श्रेष्ठको बुबा आमाको विद्यालय प्राङ्गणमा निर्माण भएको अर्धकद प्रतिमाको प्रमुख अतिथि बस्नेतले आज नै अनावरण गर्नुभयो । 

हाल विद्यालयमा १७ वटा कक्षाकोठा रहेको र बाह्रबिसे नगरपालिकाको रु २ लाख आर्थिक सहयोगमा सरस्वतीको मन्दिर पनि निर्माण भएको प्रधानाध्यापक तोपबहादुर ओलीले जानकारी दिनुभयो ।

वार्षिकोत्सव मूल समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका प्रमुख अतिथि बस्नेतले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  राजु श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक ओलीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो भने अध्ययनरत छात्रछात्राले गीत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button