तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुग्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ ।

file photo

उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो । उहाँ अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button