तपाईँ सुन्दै हुनुहुन्छः

बेरोजगार युवायुवतीलाई ‘एडभान्स कम्प्युटर’ तालिम सुरु

जुम्ला । जुम्लामा बेरोजगार युवायुवतीका लागि एडभान्स कम्प्युटर तालिम सुरु भएको छ । ३ महिने बेसिक कम्प्युटर सीप सिकिसकेका बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले १८० घण्टे एडभान्स कम्प्युटर तालिम सुरु भएको हो ।

तालिममा यहाँका आठ स्थानीय तहका ३० जना युवायुवती सहभागी छन् । तालिम दिनको २ घण्टा सञ्चालन हुने छ । जुम्लाको नाइस कम्प्युटर इन्स्टिच्युटले तालिम सञ्चालन गर्ने छ ।

तालिमको उद्घाटन गर्दै चन्दननाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख नवराज देवकोटाले सङ्घीयतापछि उद्यमशीलता र युवामैत्री नीति तथा कार्यक्रम नहुँदा कर्णालीमा बेरोजगारी न्यूनीकरणमा अपेक्षित सुधार हुन नसकेको बताउनुभयो ।

बेरोजगार युवायुवतीहरूलाई स्वरोजगार बनाउन विभिन्न सीप सिकाउन थालिएको सामाजिक विकास अधिकृत तुलराज चौलागाईले बताउनुभयो ।

‘प्रविधिको समुचित प्रयोग गरेको खण्डमा मनग्यै कमाउन सकिने सम्भावना पर्याप्त छन् । सरकारीदेखि गैरसरकारी क्षेत्रमा जागिर खान पनि कम्प्युटर शिक्षा अनिवार्य छ ।’ तालिमका प्रशिक्षक युवराज न्यौपानेले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button