तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालयमा हाम्रो दाबी यथावत् छ : रास्वपा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दाबी यथावत् रहेको बताएको छ । आज बसेको केन्द्रीय समितिको बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको बताउनुभयो ।

उहाँले पार्टीको सभापतिमा रवि लामिछाने पुनः चयन हुनुभएको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन । यो हाम्रो समस्या हो र समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ ।’

उहाँले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताउनुभयो । ‘गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ’, उहाँले भन्नुभयो ।

लामिछानेको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेशअन्तर्गतको सङ्गठन विस्तारको कार्यतालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम माघ २१ गतेदेखि सञ्चालन गरिने उहाँले बताउनुभयो ।

आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कानुनबमोजिम पुनः नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुझाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button