तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइँदै

महोत्तरी । महोत्तरीको प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने कार्यको सुरुवात भएको छ । बर्दिबास नगरपालिका–४ स्थित रहेको उक्त मन्दिरको क्षेत्राधिकार भित्रको पोखरीको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्यीकरण कार्यको शिलान्यास गरिएको हो ।

आइतबार संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिबासद्वारा आयोजित एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले उक्त कार्यको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्नुहुँदै मेयर क्षेत्रीले पर्यटन प्रबद्र्धनमार्फत बर्दिबास नगरपालिकालाई देशभर र छिमेकी मुलुकमा पनि चिनाउन चाहेको बताउनुभयो । बर्दिबास नगरपालिकालाई सबै राजनीतिक दल र सरोकारवाला पक्षसँग समन्वय गरेर सहमति र सहकार्यमै विकासको बाटोमा डोर्‍याउन खोजेको उहाँले उल्लेख गर्नुभयो ।

स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पञ्चधुरामाई मन्दिरलाई सौन्दर्यीकरण गरेर थप आकर्षित बनाउन लागिएको संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिबासका अध्यक्ष हिरालाल गौतमले जानकारी दिनुभयो । उहाँले मन्दिरको परिसरमा रहेको पोखरीलाई व्यवस्थित गर्नेदेखि लिएर पार्क निर्माण गर्नेसम्मका योजना रहेको बताउनुभयो । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको ८ कठ्ठा क्षेत्रफलमा मिनी पार्क निर्माण गरिने पनि अध्यक्ष गौतमले बताउनुभयो । ‘पहिलो चरणमा बर्दिबास नगरपालिकाको ९० लाखको बजेटबाट काम गरिने योजना छ । पोखरी निर्माणको लागि ४० लाख र पार्क निर्माणमा ५० लाखको हाराहारीमा खर्च लाग्ने अनुमान छ । एक साताभित्र निर्माणमा लाग्ने एक्चुअल खर्च आउँछ,’ अध्यक्ष गौतमले भन्नुभयो ‘सौन्दर्यीकरणको थप कामको लागि प्रदेश सरकारसँग पहल र समन्वय गरिरहेका छौँ ।’

यसअघि समितिले शनिबार बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिर र वडा नम्बर ४ स्थित पञ्चधुरामाई मन्दिर परिसरमा सरसफाइ गरी डष्टविन वितरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button