तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा चालु आवको ६ महिनामा ४१ जना सुत्केरीको हेलिबाट उद्धार

सुर्खेत । नेपाली सेनाले कर्णालीमा चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेको छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले सुत्केरी महिलाहरूलाई हेलिबाट उद्धार गरेको हो । हेडक्वाटरको गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिइन । 

जसमा कर्णालीका २६ र सुदूरपश्चिमका १५ जना रहेका छन् ।

जसमध्ये कर्णालीका डोल्पाबाट ४, मुगुबाट २, दैलेखबाट ६, हुम्लाबाट २, रुकुमबाट ३ जना रहेका छन् । यस्तै जुम्लाबाट १, कालिकोटबाट ३, जाजरकोटबाट ५ सुत्केरीको उद्धार गरिएको छ । यस्तै सुदूरपश्चिमको बैतडीका १, डोटीका २, डडेल्धुराका १, बाजुराका ३ दार्चुलाका ४ र अछामका ४ महिलाको हवाई उद्धार गरिएको हो । यस्तै सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परि घाइते भएका १४ जनाको हेलिबाट उद्धार गरेको छ भने १४ हजार ७ सय ३५ केजी राहत सामाग्री हेलिकप्टरमा मार्फत प्रभावित क्षेत्रमा पुर्‍याएको छ ।

यस्तै सेनाले सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ को आयोजना गर्न लागेको जनाएको छ  । कर्णालीको पहिचानका रुपमा रहेको लामो दुरीको दौडेको प्रवद्र्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि माघ २१ गते उक्त प्रतियोगिता हुन लागेको हो । 

खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ । 

करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दुरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् ।  

प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न सङ्घसंस्थाले भाग लिन पाउने छन् । 

प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिने छ । यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हात हतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रदर्शनीसमेत गर्नेछ । कार्यक्रम खुलामञ्चमा हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button