तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीको विकासका लागि कार्य तालिका बनाएर काम गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनीको विकासका लागि कार्य तालिका बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज भएको लुम्बिनी विकास कोषका पदाधिकारीसँगको छलफलमा उहाँले लुम्बिनी विकास गुरुयोजनाको काममा ढिला सुस्ती देखिएको भन्नुहुँदै कार्य तालिका बनाएर काम गर्न निर्देशन दिनुभयो ।

कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री किरातीले लुम्बिनी विश्वको शान्ति क्षेत्र भएकाले लुम्बिनी भ्रमणमा आउने पर्यटकले शान्तिको अनुभूति गर्ने गरी व्यवस्थापकीय सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री किरातीले लुम्बिनी क्षेत्र वरिपरि निकै फोहोर हुने गरेको जनगुनासो रहेको भन्नुहुँदै तत्काल फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिपार्ली ठकुरीले गुरुयोजना कार्यान्वयनमा रहेका ठोस समस्या पहिचान गरी समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले गुरुयोजनाभन्दा बाहिर गएर पनि संरचना निर्माण भएको भन्नुहुँदै मनोमानी ढंगले संरचना बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्रोत सुनिश्चित नहुँदा काममा ढिला सुस्ती भएको भन्नुहुँदै निर्देशन बमोजिम कार्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button