तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या

बझाङ । बझाङ जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी समस्या भएको छ । 

गत बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । 

यातायातका साधनहरू नपुगेको बझाङको साइपाल गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गर्ने गरिएको छ । 

हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानीका लागि जाने भेडा, खच्चरहरूको आवतजावतमा समस्या भएको छ । साथै साइपालको वडा नं १ देखि ५ सम्म हिमपातले बाटो अवरुद्ध भएपछि खाद्यान्न अभाव हुन थालेको स्थानीय तथा निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । 

खाद्यान्न अभाव हुन नदिन ६ महिना पहिले काँडा बिक्री केन्द्रले ३ हजार कुण्डल  खाद्यान्न ढुवानीको ठेक्का पाएको भएपनि ६ महिना सम्ममा ६ सय कुण्डल मात्रै ढुवानी गरिएको र मौजात खाद्यान्न कुनै पनि वडामा बाँकी नरहेको गाउँपालिका जनाएको छ । 

सम्झौता अनुसार बाँकी २ हजार ४ सय कुन्डेल खाद्यान्न ५ महिनाभित्र ढुवानी गरिसक्नुपर्ने छ । यस विषयमा खाद्यान्न बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुने चिन्ता बढेको धामीको भनाई छ । खाद्यान्न अभाव हुन नदिन अवरुद्ध बाटो बनाउने तयारी थालिएको साईपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिनुभयो । 

साइपाल गाउँपालिकाको लाग्नामा अत्यधिक हिमपात भएपछि बाटो अवरुद्ध भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button