तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका अछामसहित दुई जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी

अछाम । सुदूरपश्चिम प्रदेशका अछामसहित दुई जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशका अछाम र कैलाली जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

कुष्ठरोग निवारण हुन बाँकी रहेका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमका कैलाली र अछाम हुन् ।

सरकारले १३ वर्षअघि नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरे पनि बिरामीहरू शून्यको अवस्थामा पुर्‍याउन नसकिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले बताउनुभयो ।  

कैलाली र अछाममा कुष्ठरोग समस्याका रूपमा देखिएको र अन्य सात जिल्लामा निवारण भए पनि निर्मूल हुन नसकेको बताउनुभयो । 

प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम बिरामी हुनुलाई नै निवारण मानिने मापदण्ड छ । सो मापदण्ड अनुसार सुदूरपश्चिमबाट कुष्ठरोग निवारण भएको मानिने भए पनि बिरामीको सङ्ख्या दुई सय पाँच जना छ ।

लुम्बिनी र मधेस प्रदेशपछि सबैभन्दा बढी कुष्ठरोगीको सङ्ख्या सुदूरपश्चिममा छ । निवारणको दरभन्दा माथि बिरामी भएका दुई जिल्लामध्ये कैलालीमा १३१ र अछाममा ४४ जना बिरामी देखिएका छन् । निवारण दरभन्दा कम बिरामी भएको कञ्चनपुरमा पनि बिरामीको सङ्ख्या ३२ छ । 

प्रदेशभर यसै वर्षको ६ महिनाको अवधिमा मात्रै ७२ जना नयाँ बिरामी देखा परेका छन् ।

कुष्ठरोग निवारण नभएका देशभरका १६ जिल्लामध्ये सुदूरपश्चिमको एक जिल्ला अछाम मात्रै पहाडी क्षेत्रमा पर्छ ।

पहाड र हिमाली जिल्लाका दूरदराजका क्षेत्रमा अझै पनि कुष्ठरोग लागेका व्यक्तिलाई हेरिने नजरमा सुधार आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले बताउनुभयो ।

कतिपयले थाहा पाएर होस् वा नपाएर कुष्ठरोगलाई लुकाएर राख्ने गरेको पाइन्छ । यसका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि रोग निवारणमा कदम चाल्नुपर्ने सरोकारवालाको सुझाव छ । सम्भावित लक्षण देखिने बित्तिकै उपचारको दायरामा ल्याउनुपर्ने अधिकृत ढुङ्गानाको भनाइ छ ।

अछामका ४४ जना कुष्ठरोगी मध्ये २ जना नसर्ने कुष्ठरोगका बिरामी रहेको जनस्वास्थ्य अधिकृत झपट ढुङ्गानाको भनाइ छ । गत बर्ष जिल्लामा ५३ जना कुष्ठरोगका बिरामी रहेको अरू पूर्ण निको भएको तथ्याङ्क रहेको अधिकृत ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button