तपाईँ सुन्दै हुनुहुन्छः

स्लेट खानी बन्द भएपछि चिन्तित छन् आलम्पुका थामी समुदाय

दोलखा ।  दोलखा विगु गाउँपालिका वडा नम्बर ७ आलम्पुका झण्डै दुईसय परिवार थामी समुदायका मानिस अहिले चिन्तित बनेका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रले पुर्ख्यौली स्लेट खानीलाई दर्ता गरेरमात्र सञ्चालन गर्न भनेपछि उनीहरू चिन्तित बनेका हुन् । 

वडा नम्बर ७ आलम्पु गाग्रोफुटेको स्लेट खानीबाट घर छाउने स्लेट (ढुङ्गा) निकालेर बेच्ने र त्यसैबाट गुजारा गर्दै आएका स्थानीय कालुमान थामी गौरीशङ्कर संरक्षण क्षेत्रको उर्दीले बेरोजगार बन्नुपर्ने अवस्था आएको गुनासो गर्छन् । यही स्लेट खानीको ढुङ्गा निकालेर घर छाउन मिल्ने बनाएर बेच्ने र त्यसैको आम्दानीले परिवार पाल्ने गर्दै आएको छु, अरू काम गर्न न पैसा छ न सीप नै अनि अब खानी बन्द भयो भने कसरी परिवार पाल्नु र – कालुमानले भने । 

आफूले खानीबाट दैनिक २५÷३० फिट स्लेट निकालेर घरमा छाउन मिल्ने बनाएर प्रति फिट ३५ रुपैयाँसम्ममा बेच्ने गरेको कालुमानको भनाई छ । खानी दर्ता गरेर चलाउन आफ्नो आर्थिक हैसियत नपुग्ने उनको भनाई छ । 

आलम्पु गाग्रोफुटेको स्लेट खानीबाट २०१३ सालदेखि थामी समुदायका मानिसले स्लेट निकालेर घर छाउन थालेको र २०१७ सालबाट आर्थिक उर्पाजनको लागि उक्त स्लेटलाई घरमा छाउन मिल्ने बनाएर जिल्लाभरीनै बिक्री वितरण सुरु गरेको स्थानीयको भनाई छ । 

झण्डै ४० बर्ष अघिदेखि गाग्रोफुटेको स्लेट खानीबाट स्लेट निकालेर बिक्री वितरण गर्दै आएका अर्का स्थानीय मकर थामी गौरीशङ्कर संरक्षण क्षेत्रले दर्ता गर्नुपर्ने नियम बनाइदिएकोले अब धनी मानिसलेमात्र खानी सञ्चालन गर्ने त्रास बढेको बताउँछन् । 

आलम्पुमा रहेको सात सय ४९ घरधुरीमा सात सय ११ घरधुरी सीमान्तकृत थामी समुदायको रहेको छ । त्यसमा दुई सय परिवारले स्लेट निकाल्ने ठाउँ छुट्टाएर सोही अनुसार बिक्री वितरणको लागि स्लेटलाई आकार दिँदै आएका छन् । उनीहरूले स्लेट निकालेपछि जिल्लाका विभिन्न ठाउँबाट आवश्यकता अनुसारको स्लेट खरिद गर्न मानिसहरू गाउँमै पुग्ने गरेका थिए । 

गौरीशङ्कर संरक्षण क्षेत्रले खानी सञ्चालनमा रोक लगाएपछि मानिसहरू स्लेट लिन गाँउमा आउन छोडेकोले अहिले सबै परिवारको झण्डै डेढ करोड बराबरको स्लेट अलपत्र अवस्थामा रहेको स्थानीय कालुमान बताउँछन् । वर्षमा सात महिना सञ्चालन हुने खानीबाट स्लेट निकालेर बर्षदिन परिवारको गुजारा हुने गरेको मा संरक्षण क्षेत्रले दर्ता गर्नुपर्ने उर्दी जारीगरेपछि स्लेट बिक्री नभएर आर्थिक सङ्कटमा परेको स्थानीय थामीहरू गुनासो गर्छन् । 

अहिले पनि गाँउमा स्लेट लिन आउने मानिसले प्रति स्क्वायर फिट ३० रुपैयाँ संरक्षण क्षेत्रलाई राजश्व बुझाएरै लाने गरेको स्थानीय बताउँछन् । खानी नै दर्ता गर्नुपर्छ भन्नु सीमान्तकृत थामी समुदायलाई स्लेट निकाल्न नदिने षडयन्त्र मात्र भएको स्थानीय बताउँछन् । स्लेट खानीमा काम गर्न नपाइने भयो भने स्थानीय स्तरमा उत्पादन हुने आलु, कोदो र गहुँले परिवारको गुजारा तीन महिना पनि नचल्ने मकर थामीको भनाई छ । 

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख मधु क्षेत्री आफूले स्थानीय थामी समुदायका मानिसलाई स्लेट निकाल्न बन्देज लगाउन नचाहेको तर खानी सम्बन्धी नयाँ कानुन अनुसार खानी विभागमा दर्ता नगरी उत्खनन् अनुमति नभएकोले बाध्य भएर रोक्नु परेको बताउनु हुन्छ । कानुनी झन्झटमा फस्नुभन्दा सबै मिलेर खानी दर्ता गरी थामी समुदायकै मानिसलाई रोजगारी दिने अवस्था बनाउनु उपयुक्त निकास हुने आयोजना प्रमुख क्षेत्रीको भनाई छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले २०७० सालमा गरेको अध्ययन अनुसार आलम्पु गाग्रोफुटेमा रहेको स्लेट खानीबाट वार्षिक दुई लाख ९४ हजार स्क्वायर फिट स्लेट निकाल्ने हो भने दुईसय बर्षलाई पुग्न सक्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button