तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा दुईवटा सैनिक विमान दुर्घटना

भारतीय वायु सेनाका दुईवटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ ।

मध्यप्रदेश राज्यको ग्वालियरमा आज बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए ।

एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ । दुवै विमान अभ्यास उडानमा थिए ।

गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।

त्यसअघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो । सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button