तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा आँप जोन कार्यक्रमको क्षेत्र बिस्तार

जनकपुरधाम। धनुषा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आँप जोन कार्यक्रम लागु भएपछि धनुषामा आँप खेतीको क्षेत्रफलमा विस्तार भएको छ । 

जिल्लामा व्यावसायिक रुपमा आँप खेती हुने चार पालिकामा आँप जोन कार्यक्रम अन्तर्गत आँप खेती गर्नका लागि किसानहरूलाई परियोजनाले विभिन्न प्रकार सहुलियतहरू दिन थालेपछि यसको क्षेत्रफलमा विस्तार गरिएको हो ।

आँप जोन कार्यक्रम अन्तर्गत गत वर्षमा ३५ हेक्टर क्षेत्रफलमा आँपको नयाँ बिरुवा लगाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाले जनाएको छ । 

जिल्लाको मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका तथा धनुषाधामको दुई वटामा आँप जोन कार्यक्रम लागु भएको परियोजनाका कार्यान्वयन इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यूगल किशोर तिवारीले जानकारी दिनुभयो । 

परियोजनाले किसानहरूलाई मालदह, बमई, दशहरी तथा आम्रपाली जातको बिरुवा निःशुल्क दिनुका साथै प्राङ्गारिक मल, खाद्य वितरणका साथै किसानहरूलाई आँप खेती गर्नका लागि विभिन्न प्रकारको प्रशिक्षण समेत दिइएको छ  । यसका साथै चालु आर्थिक वर्षमा धनुषा जिल्लामा थप २० हेक्टर क्षेत्रफलमा आँप खेतीको विस्तार गर्ने लक्ष्य परियोजनाले जनाएको छ  ।

आँप खेती तथा आँपको उत्पादनका लागि उपयुक्त वातावरण धनुषा जिल्लाको राजमार्ग क्षेत्रका पालिकाहरू रहेकाले सो क्षेत्रमा आँप खेतीलाई प्रोत्साहन गर्दै आँप उत्पादन बढाएर किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यअनुसार धनुषा जिल्लामा आँप जोन कार्यक्रम सञ्चालनमा ल्याएको परियोजनाले जनाएको छ । अहिलेसम्म जिल्लामा आँपको खेती २ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा हुने गरेको छ ।

यस क्षेत्रमा उत्पादन भएको आँप आन्तरिक मागको पूर्तिका साथै काठमाडौँ, नारायणघाट, पोखरासहितका जिल्लाहरूमा जाने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button