तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस सत्तामा जान सक्छ : डा.कोइराला 

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले काँग्रेस ठुलो पार्टी भएकाले आफ्नो पार्टी कुनै पनि दिन सत्तामा जान सक्ने बताउनुभएको छ  ।

नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज विराटनगरमा उद्घाटन  गर्नुहुँदै उहाँले राजनीतिमा सरकार फेरबदल भइरहने भएकाले सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको नेतृत्वमा कुनै पनि बेला सरकार बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

नेपालमा कानूनी राज्य छ भन्ने कुरा हिजोको घटनाले प्रष्ट पारेको बताउँदै उहाँले यसले न्यायपालिकालाई सबल बनाएको बताउनुभयो । 

राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गते हुनुपर्ने भन्नुहुँदै उहाँले  संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले राष्ट्रपतिले पनि संविधानभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।  

नेता डा.कोइरालाले नेपालमा प्रजातन्त्र, लोकतन्त्र तथा संंघीयता कार्यान्वयनका लागि आमसञ्चार माध्यमले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै  सञ्चार क्षेत्रमा तथा सञ्चारकर्मीहरूले भोग्नुपरेको समस्या समाधान गर्न कांग्रेस गम्भीर रहेको बताउनुभयो ।  

मुलुकको राजनीतिक कठिन अवस्थामा रहेकाले दलहरुबीच सहमति आवश्यक रहेको उहाँको भनाई थियो ।

सात वटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय रहेको भन्नुहुँदै नेता डा. कोइरालाले मन्त्रालयको सङ्ख्या घटाउने कुरामा केन्द्रीय सरकारको पनि ध्यान जानु आवश्यक रहेको बताउनुभयो । 

उहाँले कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो हुनुपर्ने बताउँदै  उहाँले सरकारको नियमित खर्च घटाउँदै  र राजस्व बढाउनुपर्नेमा जोड दिनुभयो  ।

उहाँले नेपाली काँग्रेसलाई अझ जिम्मेवार बनाउन सहमतिमा प्रेस युनियनको नयाँ नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीतिक गर्नुभन्दा बिचार, उद्देश्य र सङ्गठनका लागि पनि राजनीतिक गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीलाबल्लभ घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतमले पत्रकारको हकहितका विषयमा चर्चा गर्नुभएको थियो  ।

नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं १ का संसदीय दलका नेता उद्धव थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य द्वय राजीव कोइराला, अमृत अर्याल,तथा नेपाली प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button