उपप्रधानमन्त्री लामिछाने विरुद्धको रिटको अन्तिम सुनवाइ सकियो

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्धको नागरिकता विवाद सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइ सकिएको छ ।
गृहमन्त्री लामिछानेतर्फका कानून व्यवसायीहरूले बहस र रिट निवेदकहरूले जवाफी बहस गरेपछि आज सुनुवाइ सकिएको हो ।
बहस सकिएपछि संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्न भन्नेबारे संवैधानिक इजलास आन्तरिक छलफलमा रहेको छ ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संवैधानिक इजलासले सुनुवाई गर्दै आएको थियो ।
गृहमन्त्री लामिछानेसमेतलाई विपक्षी बनाएर अधिवक्ता रविराज बसौलासहित र अर्का अधिवक्ता युवराज पौडेलसहितको दुई छुट्टाछुट्टै रिट निवेदनमा एकसाथ सुनुवाई हुँदै आएको थियो ।
गत पुस २२ गते अग्राधिकारमा राखेर संवैधानिक इजलासले सुनवाइ गर्दै आएको लामिछानेविरुद्धको सो रिट निवेदन बुधबार हेर्दाहेर्दैमा राखेर आज अन्तिम सुनुवाई गरेको हो ।
नागरिकता विवादमा संसद् पदको अयोग्यता सम्बन्धी दायर रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य रबि लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगायतलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्