तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण 

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । 

बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त दुई मन्त्रीहरूले आज पदभार ग्रहण गर्नुभएको हो ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्रालयमार्फत रहेको ७ वटा कार्यालयको कामकाज छिटो र प्रभावकारी बनाउनका लागि भोलिदेखि नै टोकन प्रणालीमार्फत काम गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । 

मन्त्री यादवले मन्त्रालयले अगामी दिनमा सडक सम्बन्धी योजना सञ्चालन गर्दा मझौला किसिमको योजनाहरू मात्र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले स्थानीय तथा संघीय सरकारले साना तथा ठूला योजना सञ्चालन गर्ने मान्यतामा आफू रहेको बताउँदै प्रदेश सरकारले मझौला किसिमका योजनाहरू मात्र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले विगतमा के भयो त्यसको पछाडि आफू नजाने बताउँदै भौतिक पूर्वाधारको काम गर्दा गुणस्तरीयता, सुशासन तथा जनतामैत्री भएर काम गर्ने बताउनुभयो । 

नेकपा एमालेका संसदीय दलका नेता समेत रहनुभएका मन्त्री यादवले मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरूका बीचमा सहमति भइसकेको बताउँदै आइतबार सम्ममा  सरकारले पूर्णता पाउने बताउनुभयो । 

पदभार ग्रहण गराउँदै मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले संघीय सरकारले कार्यालयहरूको काम छिटो छरितो बनाउने निर्देशन दिएअनुसार मन्त्रालय मातहत रहेका प्रदेशका ७ कार्यालयको काम छिटो गराउनका लागि भोलिदेखि लागु हुने गरि टोकन प्रणाली लागु गरेको बताउनुभयो ।

त्यस्तै, मधेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वसन्त कुमार कुशवाहाले पनि मन्त्रालयको कार्यभार सम्हाल्दै किसान कार्ड लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले रासायनिक मल तथा किसानलाई कृषि अनुदान समयमा पारदर्शी किसिमले उपलब्ध गराउनका लागि प्रयास गर्ने बताउनुभयो ।

मन्त्री कुशवाहा जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुभएको हो  । कृषि मन्त्री मन्त्रालय पुग्दा कृषि सचिव डा. नम्रता सिंह सहितका कर्मचारीहरूले उहाँलाई  स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button