तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आत्महत्याको डरलाग्दो तथ्याङ्क, ६ महिनामा १३४ गरे आत्महत्या

 

भद्रपुर, झापा । झापामा आत्महत्याजन्य घटना बढिरहेको विभिन्न तथ्याङकहरुले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो छ महिनामा मात्रै १३४ जनाले आत्महत्या गरेका छन् । । आत्महत्या गर्नेमा ६० जना पुरुष, ५३ जना महिला र २१ जना बालबालिका रहेका छन् ।

झापामा आत्महत्याको तथ्याङ्क दिनप्रति दिन बढ्दो रहेको प्रहरीले जनाएको छ ।

यसरी आत्महत्याको तीव्र वृद्धि हुनु आर्थिक विपन्नता, प्रेमको असफलता र मानसिक रोगको असर लगायतका कारणहरू मुख्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी बताउनु भयो ।

जिल्ला प्रहरीको तथ्याङ्क अनुसार झापामा हरेक वर्ष आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । झापामा आर्थिक वर्ष ०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष ०७७÷०७८ मा ३३५ जना र आर्थिक वर्ष ०७८÷०७९ मा ३१३ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ ।

यसैबीच, झापाको कचनकवल गाउँपालिकामा सात महिना पहिले तीन युवतीहरूले आत्महत्या गरेका थिए । यस्तै, माघ १० गते दुई जना युवा, युवतीले एकै कपडा, एकै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध क्लिनिकल मनोपरामर्शविद् िप्रमेश प्रधानले समयमै गरिने सहयोगले जोखिममा रहेका व्यक्तिहरूलाई बचाउन सकिने बताउनु हुन्छ । सही सहयोग गर्न सक्ने–उचित परामर्श दिन सक्ने व्यक्तिहरू जस्तै मनोचिकित्सक, चिकित्सामनोविद्, मनोविमर्शकर्ता, स्वास्थ्यमा तालिम प्राप्त व्यक्तिहरूको सहयोग लिन प्रोत्साहन गर्ने, ११६६ मा हेल्प लाइनको सहयोग लिने, आत्महत्या तथा आत्म हानिबारे खुलेर कुरा गर्ने, कसैले आत्महत्याको बारेमा कुरा गर्‍यो भने उसको कुरा पूर्वाग्रह नराखी गम्भीरतापूर्वक र गोपनीयता राखेर सुनिदिने, सकारात्मक सोच विकास गर्ने, दैनिक रुपमा मर्निङ वाक गर्ने, आफूलाई मनोरञ्जनात्मक क्रियाकलापमा भुलाउने, सामाजिक, आध्यात्मिक र धार्मिक क्रियाकलापहरूमा सहभागी हुनुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button