गण्डकी प्रदेशका मन्त्री तथा सचिवहरूलाई अनावश्यक खर्च घटाउन मुख्यमन्त्रीको निर्देशन

कास्की । गण्डकी प्रदेशका नवनिवार्चित मन्त्री तथा सचिवहरूलाई अनावश्यक खर्च घटाउन मुख्यमन्त्री खगराज अधिकारीले निर्देशन दिनु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले सुझाव तथा निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न पनि निर्देशन दिनुभएको छ ।
पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन पनि उहाँले निर्देशन दिनुभयो ।
सबै मन्त्रालयहरूले आवधिक रूपमा ठोस नतिजासहितको कार्यप्रगतिको प्रतिवेदन पेस गर्न निर्देशन दिनुका साथै आर्थिक ऐन, नियम तथा कार्यविधिहरूको पूर्ण पालना गरी पुराना बेरुजुहरू फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरूलाई आग्रह गर्नुभयो ।
साथै प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न सबै जिम्मेवारीका साथ लाग्न आग्रहसमेत गर्नुभएको एक मन्त्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्