तपाईँ सुन्दै हुनुहुन्छः

दुम्किबासमा नयाँ सवस्टेशन निर्माण प्रक्रिया सुरु

नवलपरासी  ( बर्दघाट सुस्ता पूर्व) ) । नवलपुरको  विनयी त्रिवेणी गाउँपालिकामा नयाँ विद्युत्  सवस्टेशन निर्माण कार्य सुरुआत भएको छ ।

वडा नं. दुई दुम्किबासमा  निर्माण हुने नयाँ विद्युत् सवस्टेशनका लागि निर्माण कम्पनीले जग्गा नापजाँचको कार्य  थालेको छ । 

विद्युत् सवस्टेशनका लागि छुटाइएको जग्गाको चार किल्ला पहिचानका लागि प्राविधिकहरूले काम सुरु गरेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

विद्युत् सव स्टेशनका लागि चार बिघा जग्गा विद्युत् प्राधिकरणको नाममा ल्याएर साइट किलिएरको काम सकिएपछि थप काम अघि बढ्न लागेको अध्यक्ष गिरीले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि अहिले फिल्डमा आएको र  जग्गाको थप प्रमाणीकरणको काम  भए लगतै निर्माणको काम अघि बढ्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो । 

विनयी त्रिवेणीको दुम्किबास क्षेत्र सहित वरपर हाल नवलपरासी पश्चिम बर्दघाट स्थित सवस्टेशन बाट विद्युतिकरण गरिएको छ । टाढा बाटा ल्याइएको प्रसारण लाइनका कारण ठूलो समस्या झेल्नुपरेको अध्यक्ष गिरीले बताउनुभयो । लो भोल्टेस सहित बर्खाको समयमा दाउन्ने क्षेत्रमा विद्युत् पोलमा क्षति हुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकोमा दुम्किबासमा सवस्टेशन निर्माण पछि ती समस्या समाधान हुने उहाँले बताउनुभयो । 

गाउँपालिका भित्रका वडा नम्बर ३ र ५ मा अझै  विद्युतिकरण नहुँदा कतिपय स्थानीय अन्धकारमा बस्नुपर्ने बाध्यता रहेकाले पालिका भित्र सबै क्षेत्रमा सहज रुपमा विद्युतिकरणका लागि यो आयोजनाले सहयोग पुग्ने विश्वास लिएको छ । यी वडाका कतिपय क्षेत्रमा सामुदायिक विद्युतिकरण सहित लघु जलविद्युत आयोजनाबाट विद्युतिकरण गरिएको भएपनि समस्या धेरै रहेकाले ती समस्या समाधान गर्न यो आयोजनाले सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘लो भोल्टेज हुँदा घरायसी उपभोक्ता सहित भएका उद्योगहरूले थप समस्या झेलिरहेका छन् , भारतीय सीमासँग जोडिएको पालिका भएकाले उद्योगहरू आउन खोजिरहेका छन्, तर विद्युत् छैन ,यसले धेरै पछि पारेको छ, बनेपछि औद्योगीकरण मा सहयोग त पुग्छ नै उज्यालो विनयी त्रिवेणी बनाउने हाम्रो योजना पनि सफल हुन्छ’ अध्यक्ष गिरीले भन्नुभयो ‘यस कारण यो आयोजना पालिकाको भविष्यसँग जोडिएको छ।’

एक सय ३२ केभी प्रसारण लाइनमा डबल सर्किटको सवस्टेशन निर्माणको काम सुरु भएको हो । एसियाली विकास बैङ्कको सात मिलियन अमेरिकी डलर सहयोगमा निर्माण गर्न लागिएको यस आयोजना अबको २२ महिनामा सम्पन्न गर्ने लक्ष रहेको छ ।

दुम्किबासमा विद्युत् सवस्टेशन निर्माणपछि मध्यविन्दु नगरपालिका क्षेत्रमा समेत विद्युतीकरणमा थप सहजता हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button