तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा मूर्ति पूजाको विशेष चलन, माता सरस्वतीको मूर्तिलाई अन्तिम रूप दिइँदै 

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा मूर्ति पूजाको विशेष महत्त्व रहेको छ । हरेक चाडपर्वमा माटोको प्रतिमा बनाएर मूर्ति पूजा गर्ने चलन परम्परा देखि नै चल्दै आएको छ । 

माटोको कलात्मक मूर्तिको निर्माण गरेर यसको बिक्री वितरण गरि जीविकोपार्जन गर्नेहरुको सङ्ख्या मधेशका जिल्लाहरूमा हजारौँको रहेको छ । सरस्वती माताको पूजा होस् वा अन्य चाडपर्व तथा पूजा किन नहोस् सबैमा मूर्तिको निर्माण गराएर मन्त्रद्वारा प्राण प्रतिष्ठा गराई पूजा गर्ने चलन मिथिलामा पहिला देखि नै चल्दै आएको छ । 

मधेश प्रदेशका प्रमुख चाडपर्वको रुपमा रहेको छठ पर्व, दशैं, दीपावली, गणेश चौठी, इन्द्र पूजा, कृष्ण जन्माष्टमी, झण्डा मेला, विश्वकर्मा पूजा किन नहोस् सवैमा अनिवार्य रुपमा नै मूर्ति निर्माण गर्ने चलन रहेकाले यसले धेरैलाई रोजगारी पनि प्रदान गरेको छ । खास गरेर कुम्हार जातिका व्यक्तिहरू अहिले सरस्वतीको मूर्तिलाई अन्तिम स्वरूप दिने काम गरिरहेका छन् । 

जनकपुरधाममा पुस्ता दरपुस्ता देखि नै मूर्तिको निर्माण गर्ने काममा सक्रिय रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं २० का लक्ष्मी पण्डित अहिले भोलि हुने माता सरस्वतीको प्रतिमा बिक्रीका लागि अन्तिम स्वरूप प्रदान गरिरहनु भएको छ  यसका साथै निर्माण गर्नु भएको मूर्ति बिक्रीको पखाईमा रहनु भएको छ । उनले एक वटा सरस्वतीको मूर्ति कम्तीमा ५ हजार देखि अधिकतम १५ हजारमा बिक्री गर्ने गरेको बताउनु भयो । 

जनकपुरधाममा वर्षौँ देखि मूर्तिको निर्माण गरेर घर परिवार चलाउँदै आएका योगेन्द्र पण्डितले बनाउने मूर्ति अझै कलात्मक रहने गरेका छन् । उहाँले बनाउने मूर्ति कम्तीमा पनि ७ हजार देखि ४० हजारमा बिक्री गर्ने गरेको बताउनु भएको छ । मूर्तिको बिक्रीबाट राम्रो आय आर्जनका साथै घर परिवार चलाउँदै आएको उहाँले जानकारी दिनु भएको छ । 

जनकपुरधामको दर्जनौँ ठाउँमा अहिले माटोको सरस्वतीको प्रतिमालाई अन्तिम स्वरूप दिने काममा मूर्तिकारहरू लागि परेका छन् । जनकपुरधाममा मात्र सयौँ शिक्षालय तथा सार्वजनिक स्थलमा माता सरस्वतीको पूजा गरिने भएकाले मूर्तिको माग अत्यधिक मात्रामा रहेका छन् । प्रायः मूर्तिकाहरुले पहिला नै अर्डर लिएर मूर्तिको निर्माण गर्ने गरेका छन् । यसमा प्रयोग हुने रङ्ग महँगो हुँदै गएकाले मूर्तिको लागतमा वृद्धि हुन थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button