तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँची महोत्सव तथा औद्योगिक प्रदर्शनी मेला सन्धिखर्कमा सुरु 

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ ।

अर्घाखाँचीलाई  व्यावसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरूको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक उद्योग वाणिज्य संघका अर्घाखाँचीले बताएको छ । माघ ११ देखि २४ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अपेक्षा रहेको उद्योग वाणिज्य संघका अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रले जानकारी दिनुभयो ।

महोत्सवको पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सले ’पाँचौँ अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गरेका हुन् ।

सन्धिखर्कको कुँडुले फाँटमा  कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार भन्ने नाराका साथ महोत्सव सञ्चालन भएको महोत्सवमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न तथा स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित वस्तुको प्रचार गरी पर्यटक भित्राउन तथा जिल्लालाई चिनाउन भूमिका खेल्ने चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो ।

उद्घाटन सत्रमा विभिन्न समुदायले जातजाति र भेषभुषा झल्कने झाँकीसहितको प्रदर्शन गरेका थिए । स्थानीय नेवारी समुदायको मौलिक नाच भैरव नाच, सोरोठी नाच, मारुनी नाच, अर्घाका पञ्चेबाजा प्रदर्शन गरिएको थियो । 

उत्पादित वस्तुहरूको प्रवर्द्धन, गर्न र  पर्यटकीय क्षेत्रको प्रचार गर्न महोत्सवले भूमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको भनाइ रहेको छ ।

मेलामा झण्डै चार सय स्टल छन् । कोभिडका कारण विगत दुई वर्ष यता महोत्सव सञ्चालन हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button