तपाईँ सुन्दै हुनुहुन्छः

‘युवालाई स्वदेशमै नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न गराउनुपर्छ’

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाली युवालाई स्वदेशमै नयाँ प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न गराउनुपर्ने बताउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आज आयोजना गरेको ‘राष्ट्रिय नवप्रवर्तन सम्मेलन’मा उहाँले भन्नुभयो, “हरेक दिन रोजगार तथा अध्ययनका लागि हाम्रो देशबाट युवा विदेशिने क्रम जारी छ । यो अवस्थालाई रोक्न योग्य, सक्षम युवालाई नेपालमै बसेर नयाँ प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित काममा संलग्न हुने वातावरण तयार गर्नुपर्छ ।”

मन्त्री खनालले अबको भविष्य प्रविधिमा नै भएकाले यो क्षेत्रमा नेपालले धेरै काम गर्नुपर्ने बताउनुभयो । विश्वले प्रविधिमा धेरै ठूलो फड्को मारिरहँदा नेपालमा अझै पनि कूल जनसङ्ख्यामध्ये ३८ प्रतिशतमा मात्र पूर्ण रुपमा इन्टरनेटको पहुँच पुगेको तथ्य प्रस्तुत गर्नुहुँदै मन्त्री खनालले देशको वास्तविकता बुझेर सोहीअनुरूप काम गर्नुपर्ने औँल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले अनुसन्धान तथा विकासको क्षेत्रमा सरकारले आवश्यक बजेट खर्च गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले सरकारले नयाँ प्रविधि तथा नवप्रवर्तनमा लगानी गर्नुपर्ने बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विभिन्न दातृ निकायको सहयोगमा नवप्रवर्तन सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणालीसम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क तथा राष्ट्रिय नवप्रवर्तन सूचकाङ्कजस्ता विषयमा छलफल समूहगत छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button