तपाईँ सुन्दै हुनुहुन्छः

‘सहज सेवा प्रवाहले सरकारी सुविधाप्रति विश्वास बढ्छ’

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पारदर्शिता, जबाफदेहिता, इमानदारिता र व्यावसायिक दक्षताका आधारमा सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ५८ औँ वार्षिकोत्सव समारोहको अवसरका आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले सेवाग्राहीहरूलाई छिटो, छरितो र सहज सेवा प्रवाहले सरकारी सेवा सुविधाप्रति विश्वास बढेर जाने बताउनुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन, उद्यमशीलता विकास गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक उच्च दर हासिल गर्न राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका सकारात्मक रहनेमा आफू विश्वस्त रहेको अर्थमन्त्रीको भनाई छ ।

मुलुकमा देखिएको अर्थतन्त्र चुनौतीलाई सामना गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकले योगदान दिनुपर्ने र वित्तीय नीतिको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैंकिङ्ग सेवा सुविधाको पहुँच लक्षित वर्ग र समुदायसम्म पुर्‍याउनुपर्ने आजको आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी संघका अध्यक्ष दिनेश विक्रम थापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका अध्यक्ष दीपेन्द्र कार्की, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका अध्यक्ष ईश्वर बहादुर सिंह राष्ट्रिय वाणिज्य बैङ्क, कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डे लगायतकाले धारणा राख्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा ‘आरबीबी डिजिटल संसार’ सेवाको अर्थमन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो भने बैङ्कको स्मारिका ‘उपहार’ नामक पुस्तक समेत विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button