तपाईँ सुन्दै हुनुहुन्छः

“वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई पठाउँदा पूर्ण सुरक्षा अपनाउनुपर्छ”

जनकपुरधाम । वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई कसरी सुरक्षित तथा व्यवस्थित बनाउन सकिन्छ भन्ने उद्देश्यले राष्ट्रिय महिला आयोगले आज जनकपुरधाममा मधेश प्रदेश स्तरीय सरोकारवालाहरूसँग सार्वजनिक सुनुवाई कार्यक्रममा गरेको छ ।

वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षा, मर्यादा र सेवाको सुनिश्चितताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत तहगत सरोकारवालाहरुसंगको उपस्थितिमा भएको सुनुवाई कार्यक्रममा सहभागी वक्ताहरूले वैदेशिक रोजगारीमा जानका पुरुष भन्दा महिलाहरू अझै सुरक्षित तरिकाले बढी सतर्क एवं सजग भएर जानुपर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या नगण्य भएको, त्यसमा पनि ठगीमा पर्ने र विदेशमा गएर विभिन्न प्रकारको शोषणमा पर्ने अवस्था आउन नदिनका लागि सुरक्षित तरिकाले आधिकारिक रुपमा हातमा सीप लिएर सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरेर मात्र जानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महिला आयोगका सदस्य जया घिमिरेले सकभर महिलाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आउन नदिने अवस्थाको निर्माण गर्न आवश्यक भएको बताउँदै जानै परेको खण्डमा सुरक्षित तथा मर्यादित बनाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले महिलामाथि हुने हरेक प्रकारको हिंसा तथा विभेदका सवालमा आयोग गम्भीर रहेको बताउँदै आयोगले नेपाल सरकार समक्ष १०६ वटा नीतिगत सिफारिस गरेको बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख सङ्गीता ठाकुरले महिलाहरूलाई वैदेशिक रोजगारीमा पठाउनुको साटो स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न आवश्यक भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मधेशका महिलाहरूमा शिक्षा, ज्ञान तथा सीपको अभाव भएको बताउँदै यसमा सुधार गर्नका लागि सबै पक्षबाट कामकाज हुन आवश्यक भएको बताउँदै उपमहानगरपालिकाले महिलाको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सबै प्रकारको सहयोग गर्न तयार भएको बताउनुभयो ।

धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयको हातामा रहेको आप्रवासी श्रोत केन्द्रबाट ३ हजार १ सय ५४ जनाले वैदेशिक रोजगारीको विषयमा परामर्श लिएको र जसमध्ये १ सय १७ महिलाहरू रहेको बताउँदै गाउँ गाउँको सूचना केन्द्र मार्फत् थप ४ हजार ४ सय ४१ जनाले जानकारी लिएको बताउनुभयो ।

कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, राष्ट्रिय मानव अधिकार आयोगका प्रादेशिक कार्यालयका निमित्त कार्यालय प्रमुख रेखा दत्त, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामत सहितका सहभागीहरूले विभिन्न प्रकारको राय सुझावहरू दिनुभएको थियो । मधेश प्रदेशबाट पुरुषहरू सबैभन्दा बढी सङ्ख्यामा वैदेशिक रोजगारीमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button