तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै नेता पौडेलले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार गर्न र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच एकताको खाँचो रहेको पनि बताउनुभयो । 

नेकपा (एमाले) का नेता रघुवीर महासेठले वर्तमान सरकारले छोटो समयमा नै शुरु गरेका कामहरूले अहिलेको सरकारले केही गर्छ कि भन्ने जनतामा आशा र विश्वास पलाएको बताउनुभयो ।

उहाँले देशको आर्थिक सुधारका लागि प्रारम्भिक सकारात्मक प्रयास थालिएको भन्दै राजनीतिक रुपमा पनि सरकारले प्रगति गरेको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो  ।

नेता पौडेलले जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उहाँले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताउनुभयो । उहाँले जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक रहेको पनि औँल्याउनु भयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड समेत दिनुभयो ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संसदमा निष्पक्ष, तटस्थ भूमिका निर्वाह गरेर जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्न आग्रह गर्नुभयो । 

बैठकमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल लगायतका सांसदहरुले नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button