तपाईँ सुन्दै हुनुहुन्छः

अछामसहित सुदूर पहाडमा वर्षा, किसान खुसी

अछाम । वर्षा नहुँदा हिउँदे बाली सुक्न थालेको भन्दै चिन्तित बनेका अछाम सहित सुदूरपश्चिम पहाडका किसान खुसी देखिएका छन् । बाली लगाएको लामो समयसम्म हिउँदे वर्षा नहुँदा बारीमा लगाइएको बाली सुक्ने अवस्था भएपछि निराश बनेका किसानहरू सोमबार रातिदेखि निरन्तर वर्षा हुन थालेपछि खुसी बनेका हुन । 

जिल्लाका अधिकांश स्थानहरूमा बाली सिचाँईको सुविधा नहुँदा किसानहरू वर्षेनी मर्कामा पर्दै आएका छन् । हिउँदमा समयमा वर्षा नभइदिँदा हरेक वर्ष समस्या खेपिरहेका अछामका किसानहरूलाई यस वर्ष समयमै भएको वर्षाले केही आशा जगाएको कमलबजार नगरपालिका-९ का किसान इन्द्र बहादुर रावतले बताउनु भयो । 

यस्तै वडा नः १० का वडा अध्यक्ष भीम बहादुर विष्टले समयमै भएको वर्षाले खुसी तुल्याएको बताउनु भयो । सुक्नै लागेको हिउँदे बाली अब फस्टाउने उहाँको विश्वास छ । वर्षाका कारण किसानहरूको अन्नबाली तथा तरकारी बालीमा फाइदा हुने किसानले बताएका छन् । 

हिउँदे बाली अन्तरगत गहुँ, जौ, मुसुरो, तोरी, आलु, प्याज, लसुन, धनियाँ, लगायतका अन्य बालीहरूमा यस वर्षाले राहत पुग्ने किसानहरूको अपेक्षा छ । सोमबार रातिदेखि सुरु भएको वर्षा लगातार भइरहेको छ । 

हिजोबाट सक्रिय भएको मनसुन सुदूरपश्चिम सहित कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा वर्षा सहित हिमपात भइरहेको छ । सुदूर तथा कर्णाली प्रदेशका उच्च हिमाली भेगहरूमा अधिक मात्रामा हिमपात भएपछि एकातर्फ किसानहरू खुसी भएका छन् भने अर्कोतर्फ बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । 

यता निरन्तर रुपमा वर्षा भइरहेकाले चिसो बढेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । यो समयमा बालबालिकाहरू र ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको विशेष ख्याल राख्न सुझाव दिएका हुन् ।

प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डा. अनमोल थापाले वर्षापछि चिसोको मात्रा बढेकाले बालबालिका र ज्येष्ठ नागरिकहरूको ख्याल राख्न जरुरी रहेको औँल्याउनु भयो । विशेष गरि यो समयमा बालबालिकाहरूमा निमोनियाको असर बढी पर्ने भएकाले न्यानो गराइराख्न डा. थापाले आग्रह छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button