तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा गरिब परिचयपत्र वितरण सुरु

धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाले गरिब परिचयपत्र वितरण सुरु गरेको छ । पालिकाले अहिलेसम्म विभिन्न वडाका १ सय ८० घरपरिवारलाई परिचयपत्र वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको वडा नं ३ का १ सय १६, वडा नं ४ मा ४०, वडा नं ५ मा २४ घर परिवार गरि जम्मा उल्लेखित सङ्ख्याका गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सिता पौडेलले जानकारी दिनुभयो । अब बाँकी वडाहरूमा माघ १३ गतेसम्म परिचयपत्र वितरण गरिने उहाँले बताउनुभयो । 

त्यस्तैगरि पालिकाको वडा नं ३ मा पशुमा लाग्ने रोग र त्यसको उपचारको बारेमा शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय १४ घरधुरी पशुपालक कृषकका बाख्रा १ हजार ७ सय ५०, गाई ३ सय ३५, भैसीं ९७, कुखुरा २ हजार २ सय २१, र ३ सय २९ बंगुरलाई लाग्ने  विभिन्न रोगको औषधी नि:शुल्क वितरण गरिएको छ । भने ११ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । त्यस्तै यो वडाका ज्येष्ठ नागरिकहरूको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको गाउँपालिकाका कर्मचारी दीपक राईले जानकारी दिनुभयो । यस्तै वडा नं ४ र ५ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४५ जनाको स्वास्थ्य परिक्षण गरि नि:शुल्क औषधि वितरण गरिएको उहाँले बताउनुभयो । 

शिविरमा मेडिकल अधिकृत प्रेम बहादुर बस्नेत सहितको टोलिले फिजिकल चेकजाँच सहित आवश्यक सल्लाह सुझाव दिएको थियो । आजै ४ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘’श्रमको सम्मान , राष्ट्रको अभियान’’ नाराका साथ न्यूनतम रोजगार, नागरिकको अधिकार भन्ने  सञ्चार’ अभिमुखीकरण सम्पन्न गरिएको छ । अभिमुखीकरणमा सो वडाका विभिन्न टोलका १८ देखी ६० वर्ष उमेर समूहका ५० जनाको सहभागिता थियो । 

अभिमुखीकरणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने भन्ने प्रक्रियाबारे जानकारी गराइएको संयोजक पौडेलले बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत फकिर मोहमद,४ नं वडाध्यक्ष भीम बहादुर राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button